सिद्धान्त
नेपाली कांग्रेसले स्थापनाकालदेखि नै अवलम्बन गर्दै आएको मूल आदर्श राष्ट्रियता, मूल सिद्धान्त लोकतन्त्र र समाजवादका सन्दर्भमा स्पष्ट गर्नु आवश्यक भएको छ । वी.पी. कोइरालाले राष्ट्रियताको मूलत जनता भएको विचार प्रस्तुत गर्नुभएको छ । अहिले जनताको स्वतन्त्र सार्वभौम सर्वोच्चता नेपालमा स्थापित भएको अवस्था छ । हिमाल, पहाड, तराई–मधेस विभिन्न भूगोलमा रहेका, विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति तथा आर्थिक रूपले विपन्न र सामाजिक रूपले विभेदमा पारिएका शोषित, पीडित समुदायले समेत एकआपसमा सद्भावका साथ राष्ट्र, राज्य र राजनीतिक प्रणालीमाथि स्वामित्व अनुभव गर्ने हृदयको गहिराइबाट उत्पन्न भावना नै राष्ट्रियता हो ।
आफू जन्मेको थातथलो, वरण गर्ने संस्कृति र परिचयको सामूहिक आधार नै राष्ट्रियता हो । राष्ट्रियता कुनै राजनीतिक प्रणाली वा भौगोलिक सीमाभित्र मात्र आबद्ध छ भन्ने होइन । जहाँ जुन रूपमा रहे पनि जसले आफ्नो पुर्खाहरूको भूमि र आफ्नो जन्मभूमिसहित आफ्नो सांस्कृतिक परिचय वरण गर्दछ र देशभक्तिको भावना राख्दछ राष्ट्रियता त्यही रहन्छ भन्ने नेपाली कांग्रेसको दृष्टिकोण रहेको छ । संवैधानिक रूपमा सङ्घ, प्रदेश र सबल स्थानीय तहको संरचना गरी जनताको सामूहिक भावनामा आधारित राष्ट्रियतालाई मजबूत बनाउने महत्त्वपूर्ण निर्णय गर्नमा नेपाली कांग्रेसले गरेको नेतृत्वदायी योगदानलाई कसैले पनि बिर्सन सक्तैन ।
नेपाली कांग्रेसले वि.सं. २०६३ को जनआन्दोलनपश्चात् प्रजातन्त्रको स्थानमा लोकतन्त्र शब्द प्रयोगमा ल्याएको छ । प्रजा, जन जस्ता शब्दहरूले जनतालाई मात्र सम्बोधन गर्ने भएको हुनाले नेपाली कांग्रेसले भूमि र जनता दुवै लाई सम्बोधन हुने शब्दावलीको चयन गर्दै लोकतन्त्र शब्दको प्रयोग गर्न लागेको हो । वि.सं. २०७५ मा सम्पन्न महासमितिको बैठकले लोक शब्दको अर्थ नेपालको भूमि र नेपाली जनता दुवै लाग्ने हुनाले जनता तथा नेपाल भूमिको स्वतन्त्र, सार्वभौम सर्वोच्च सत्तासम्पन्न राजनीतिक प्रणाली भनेर लोकतन्त्रको प्रयोग गरिएको स्पष्ट गरेको छ । लोकतन्त्र आधुनिक राज्यप्रणालीको सबैभन्दा विकसित र जनमुखी प्रणाली सिद्ध भएको छ ।
लोकतन्त्रका आधारभूत सिद्धान्तहरू: जनताको स्वतन्त्र सार्वभौम सर्वोच्चता, राष्ट्रियताको संरक्षण, मानवअधिकारका विश्वव्यापी मान्यताहरूको पालना, आवधिक निर्वाचन, संसदीय प्रणाली, कानूनी शासन, स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, भयबाट मुक्ति, शोषण र अन्याय तथा विभेदबाट मुक्ति, वैधानिक रूपमा सम्पत्ति आर्जनको अधिकार आदिप्रति नेपाली कांग्रेसको पूर्ण प्रतिबद्धतालाई नेपाली कांग्रेसले पुनर्पुष्टि गरेको छ ।
बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतन्त्रका प्रति नेपाली कांग्रेसको आरम्भ देखि नै अटूट विश्वास गरिरहेको छ र भविष्यमा समेत यसप्रति प्रतिबद्ध रहने सुनिश्चित गरेको छ ।
वीरगञ्ज महाधिवेशन २०१२ ले समाजवादलाई अङ्गीकार गर्दै ठहर गरेको “नेपाली कांग्रेस प्रजातन्त्र र अध्यात्मको हत्या गरेर समाजवाद स्थापना गर्न चाहने कार्यको विरोधी छ । समाजवाद ल्याउनका लागि प्रजातन्त्रको विनाश गर्नु आवश्यक छैन भन्ने यसको विश्वास छ । यसले समाजवाद र प्रजातन्त्रको सुदृढ गठबन्धनबाट नै साँचो समाजवादी समाजको निर्माण हुनसक्छ भन्ने विश्वास गर्दछ । अतः नेपाली कांग्रेस शान्तिपूर्ण र लोकतान्त्रिक उपायहरूबाट समाजवादको स्थापना गर्न चाहन्छ ।” यसलाई स्पष्ट गर्दै सोही महाधिवेशनले आफ्नो आर्थिक नीतिमा स्पष्ट गरेको छ: प्रजातान्त्रिक पद्धतिबाट समाजवादी अर्थव्यवस्थाको स्थापना गर्न नेपाली कांग्रेस प्रतिबद्ध छ ।”
नेपाली कांग्रेसको जगमा किसान, मजदूर, शोषित, श्रमिक, विभेदमा परेको वर्ग नै मूल आधार रहेको छ । यससँगै मध्यम वर्गीय परिवार, उद्योगपति, पूँजीपति र सचेतवर्ग समेत नेपाली कांग्रेसमाथि भर गर्दछ । विपन्न र विभेदमा परेका सीमान्तकृत वर्गको उत्थानका लागि आर्थिक न्याय र लोकतन्त्रको सुदृढ गठबन्धनबाट नै साँचो समाजवादी समाजको निर्माण हुनसक्छ भन्ने नेपाली कांग्रेसको विश्वास छ ।
नेपाली कांग्रेसले समाजवादलाई आर्थिक सामाजिक कार्यक्रमका रूपमा स्वीकार गरी परिभाषित समेत गरेको छ। नेपाली कांग्रेसको समाजवाद, राज्य नियन्त्रित, केन्द्रीकृत आर्थिक प्रणाली तथा जनवादी केन्द्रीयतामा आधारित एकदलीय राजनीतिक प्रणाली जस्तो होइन भन्ने स्पष्ट मान्यताका साथ संविधानमा उल्लेखित समाजवाद उन्मुखको अर्थ लोकतान्त्रिक मूल्य र मान्यताबाट नै आर्थिक सामाजिक रूपान्तरण गरी शोषणको अन्त्य, किसानको उन्नति, श्रमिकहरूको सामाजिक आर्थिक सुरक्षा, अशक्त तथा अतिरिक्त क्षमता भएकाहरूको आवश्यक सुरक्षा तथा सीप विकास, विभेदमा परेकालाई न्याय, छुवाछूतको अन्त्य गर्न सामाजिक घुलमिलीकरण गर्दै, हुनेहरूबाट राज्य कोषमा श्रीवृद्धि गरेर नहुनेहरूलाई समृद्ध तुल्याउने न्यायपूर्ण समतामूलक समाज निर्माण नै समाजवाद हो भन्ने स्पष्ट दृष्टिकोण र मान्यता रहेको छ ।
मूलत: नेपाली कांग्रेस कल्याणकारी राज्यमा विश्वास गर्दछ र नेपाललाई न्यायपूर्ण एवं समतामूलक बनाउने यसको समाजवादी नीतिको मूल ध्येय हो । यो नीति तीन सिद्धान्तमा अडेको छ:
-
लोकतान्त्रिक समाजमा हरेक नागरिक आत्मसम्मानका साथ बाँच्न पाउनु पर्दछ । जन्मदेखि मृत्युसम्मको जीवनचक्रमा केही निश्चित कालखण्डहरु बढी जोखिमपूर्ण हुन्छन् जति बेला नागरिकको भरथेग गरिदिनु राज्यको दायित्व हो ।
-
जिम्मेवार राज्यले सामथ्र्य र आवश्यकतालाई सन्तुलनमा राख्नु पर्दछ । अल्पकालीन राजनीतिक लाभका लागि राज्यको ढुकुटी रित्याउने गरी जथाभावी वितरणमुखी कार्यक्रम ल्याउनु हुँदैन । तर मुलुकको राजस्व, नागरिकको योगदान, संस्थागत कोषहरु र नवीन वित्तीय उपकरणहरुले धान्न सम्भव भएसम्म राज्य जनताप्रति जिम्मेवार र सहयोगी बन्नु पर्दछ ।
-
पुनर्वितरण र बीमासहित सामाजिक सुरक्षाका दुई प्रमुख पाटाको छुट्टा–छुट्टै नीतिगत सम्बोधन हुनु पर्दछ । पुनर्वितरण सोझै नगद दिएर, सार्वजनिक सेवा र वस्तुको वितरणमा अनुदान दिएर वा न्युनतम रोजगारीको ग्यारेन्टी गरेर अघि बढ्छ भने नागरिक आफैले योगदान गरेको अनुपातमा जोखिम न्यूनीकरण गरिने कार्यक्रमले सामाजिक बीमाको रुप लिन्छन् ।